भोजपुरका स्थानीयलाई आम्दानीको स्रोत बन्दै कटुस


४ मंसिर २०७६, बुधबार १६:३४ मा प्रकाशित

भोजपुर । भोजपुरका स्थानीयले कटुसको व्यापार गरेर निकै राम्रो आम्दानी गरिरहेका छन् । जंगल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेहरुको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ । स्थानीयले पनि यसलाई आर्गनिक फलको रुपमा किनेर खाने गरेका छन् ।

यो सीजनमा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रिका लागि स्थानीयहरु हाट बजार सम्म धाउने गरेका छन् । खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसहरुको रोजाईमा पर्ने गरेको छ । कटुसको बिक्रीबाट यो सिजनमा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाई छ । कटुस बिक्रेता दानमाया तामाङले भनिन्, ‘कटुस बिक्रिबाट राम्रो आम्दानी गरिरहेका छौ, एक बोरा बिक्री गर्दा रु ५ हजार रुपैयाँ सम्म आम्दानी हुन्छ ।’’

एक सिजन टिपेको कटुस बिक्रीबाट स्थानीयको जीवन स्तरमा परिवर्तन आउन थालेको तामाङले बताइन् । उनले भनिन्, ‘‘एक जना मेरो छिमेकी हुनुहुन्छ, उहाँले परारको साल घरमा जस्ताको छानो हाल्नुभयो, गत वर्ष घरमा सोलार राख्नुभयो, यसवर्षमा यसैको आम्दानीबाट छोरीको बिहे गर्ने सोचमा हुनुहन्छ ।’

भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासंगै कोशेलीको रुपमा विदेश सम्म जाने गरेको व्यापारीको भनाई छ । जंगलमा टिप्न जादा एक जनाले एक दिनमा पाँच देखी दश केजी सम्म टिप्ने गरेको उनीहरुले बताउने गरेका छन् । शुरुको समयमा प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री हुने गरेको भएपनि अहिले उत्पादन बढ्न थालेपछि मुल्य केहि घटेको बिक्रेताहरु बताउँछन् ।

कटुस बिक्रेता बिर्खराज तामाङले भने, ‘निकै स्वदिष्ट हुने भएकोले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासंगै विदेश सम्म कोशेलीको रुपमा जाने गरेको छ ।’ विशेष गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here