प्रहरीद्वारा ५८ किलो चरेससहित ५ जना नियन्त्रणमा, भागेका २ जनाको खोजी तीव्र


१ मंसिर २०७६, आईतवार १२:३५ मा प्रकाशित

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले यहाँको गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दाङ घोराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद रोक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् । गुलरिया–८ मा पर्ने भन्सार रोडबाट चेकजाँचका क्रममा शंकास्पद देखिएका कारण उनीहरूले बोकेको झोला खानतलासी गरिएको थियो । खानतलासीका क्रममा उनीहरूबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।

प्रहरी निरिक्षक ओलीले भने, ‘झोला बोकेर साँझ करिव ७ बजे उनीहरू भन्सार रोड हुँदै भारततर्फ लागिरहेको समयमा उनीहरूलाई पक्राउ गरिएको हो ।’ प्रहरी गस्ती टोलीले ५ जनालाई पक्राउ गरेको भए पनि अन्य दुई जना भने भाग्न सफल भएका छन् । भागेका दुईमध्ये एकले झोला बोकेको कारण उनीहरूसँग पनि चरेस रहेको अनुमान गरिएको छ । ती दुई जनाको खोजीका लागि बर्दियाको सम्पूर्ण नाकामा चेकजाँच कडा पारिएको छ भने जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको समेत चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here