काठमाडौं । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको घोषणा गरेका छन् ।
मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन् । अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन् । ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ। आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन् । क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ ।
जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ । सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ ।





