कम्युनिष्ट शासनले मुलकलाई उल्टो बाटोमा धकेल्योः रिजाल


२६ कार्तिक २०७६, मंगलवार १४:२५ मा प्रकाशित

पोखरा । नेपाली कांग्रेसका नेता डा मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् ।

कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे । नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे । उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्ने बताए ।

त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरे । मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए । कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत मंगलबार दिनभर पोखरा–१७ का मतदातासंग भेटघाट गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान कांग्रेस नेता डा रिजाल, उम्मेदवार खेमराज पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका कमाण्डर कृष्ण केसीसहित नगरसभापति वजीरमान श्रेष्ठ, नेता देवराज चालिसे, वडा सभापति देवराज आचार्यलगायत नेता कार्यकर्ता पनि सहभागी छन् । पोखरा–१७ को नेतृत्व पनि कास्की सभापति केसीले नै गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here