नेपालविद्यार्थी संघ झापाद्वारा भारतविरुद्ध पूर्वी नाकामा प्रदर्शन


२६ कार्तिक २०७६, मंगलवार १३:३५ मा प्रकाशित

झापा । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका धेरै भू–भागलाई भारतीय भूमिमा पारेको विरोधमा नेपालविद्यार्थी संघ झापाले मंगलबार पूर्वी नाका काँकरभिट्टामा विशाल प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला समिति झापाको नेतृत्वमा जिल्लका विभिन्न क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थक विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै चर्को नारबाजी गरेका थिए । मेचीनगर ६ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरबाट शुरु भएको र्याली काँकरभिट्टा बजारको विभिन्न भागको परिक्रमा गर्दै नेपालभारत छुट्टयाउने मेचीपुलमा पुगेर बिरोध सभामा परिणत भएको थियो । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, नालापानीका लागि पूर्खा लडे कालापानीका लागि हामी लड्ने, विदेशी हस्तक्षेप बन्द गर लगायतका चर्का नाराबाजी गरेका थिए ।

मेचीपुलमा सम्पन्न बिरोध सभामाबोल्दै विद्यार्थी नेताहरुले भारतीय नक्सामा परेको नेपाली भू–भाग फिर्ता गर्न माग गरेका थिए । विद्यार्थी नेताहरुले नक्सा सच्याउनुपर्ने माग सहित कालापानी, लिपुलेक तथा लिम्प्याधुरा लगायतका क्षेत्र नेपाली भू–भाग परेकाले भारतको नयाँ नक्सा नेपालीले स्वीकार नगर्ने बताए । नेपाली भू–भाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल विद्यार्थी संघ भारतको बिरोधमा उत्रिएको छ । भारतले एकपक्षीय ढंगबाट तयार गरेको कुनै पनि निर्णय नेपाली जनतालाई मान्य नहुने विद्यार्थी नेताहरुले स्पष्ट पारेका थिए । उनीहरुले मेचीपूलमा पुगेरै भारतको थिचोमिचो सहेर नबस्ने चेतावनी दिएका थिए । विरोध सभालाई नेपालविद्यार्थी संघका झापा सभापति राजेन्द्र उप्रेती लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here