इलाम । इलाम खसीको मासुमा आत्मनिर्भर रहेको पाइएको छ । चाडवाडमा खसी–कुखुराको माग बढेको भएपनि जिल्लामा खसी–बोका भने खपत भइनसकेर तराई र राजधानीसम्म निकासी हुने गरेको छ ।
देउमाइ र इलाम नगरपालिकामा साप्ताहिकरुपमा लाग्ने हाटबजारबाट गाडीमा खसी–बोका र बाख्रा निकासी हुने गरेको हो । हप्तामा पाँच गाडी खसी–बोका तराई हुँदै राजधानी काठमाडौंसम्म पुर्याउने गरेको व्यवसायीहरुको भनाइ छ । केही बाख्रा भारत पनि निर्यात हुने गरेको पाइन्छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय इलामकाअनुसार मासुमा इलाम जिल्ला आत्मनिर्भर रहेको छ । खसी–बोकाको मासु चार हजार ६ सय २३ मेट्रिकटन वार्षिक उत्पादन हुने गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा स्थानीय र उन्नत जातका गरी दुई लाख ३५ हजार ५ सय संख्यामा बाख्रा रहेको पाइएको छ । व्यापारीहरुले किसानका घरघरमा पुगेर खसी–बोका संकलन गरी बजारमा पुर्याउने गरेका छन् । खसी–बोकाको माग वृद्धि भएपनि मूल्य स्थीर रहेको किसानहरुको भनाइ छ ।





