काठमाडौंबाट दुई सातामा २४ लाख यात्रु बाहिरिए


१९ आश्विन २०७६, आईतवार १२:५७ मा प्रकाशित

काठमाडौं । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् ।

महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो । उनका अनुसार यो अवधिमा २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् । यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए । यो अवधिमा यात्रुबाट अग्रिम बुकिङको टिकट नपाइएको, टिकटमा गाडी नम्बर र चढ्ने गाडी नम्बर परेको, सिट नम्बर उल्लेख नभएको जस्ता गुनासा प्रहरीमा प्राप्त भए । यात्रुबाट भाडा बढी लिएको, टिकट काटेका यात्रुलाई नलिइ गएकादेखि नागढुंगा सडकखण्डको जामसम्मका गुनासा गरिए ।

महाशाखा प्रमुख ढकालका अनुसार सर्वसाधारणको गुनासो सुनुवाइ गरेर बढी भाडा लिने ३ सय १४ जनालाई कारबाही गरिएको छ भने ट्राफिक कम्युनिकेशन एपमार्फत निगरानी गरेर लामो दूरीमा दुई जना चालक नराख्ने २६ जनालाई पनि कारबाही गरिएको छ । साथै, विभिन्न सडकखण्डमा विग्रिएका ८८ वटा सवारी साधानलाई तानिएको ढकालले बताए ।‘हेल्मेटको प्रयोग नगर्ने, जिकज्याक र तीब्र गतिमा चलाउने पनि १५ जना कारबाहीमा परेका छन्’, उनले भने, ‘कारबाहीमा पर्नेमा ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा सामान राख्ने ४० जना पनि छन् ।’ यो अवधिमा जम्मा १९ हजार ७ सय ४७ जना कारबाहीमा परेको ढकालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here