झापा । अर्जुनधाराबाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ ।
बरामद गरिएको स्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति अर्जुनधारा नगरपालिका–१ स्थित एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका वस्तु बरामद भएको छ ।
बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । विस्फोटक पदार्थको विषयमा सोमबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ, बाँकी कुरा पत्रकार सम्मेलनमै जानकारी गराउने छु ।’ जिल्लामा श्रंखलाबद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ । उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।