काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले उक्त दललाई चुनाव चिह्न पनि गोलाकारभित्रको हसिया हथौडा दिएको छ । उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ पार्टीको रुपमा दर्ता भएको छ ।
त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औलासहिताको हत्केला चुनाव चिह्न पाएको छ । आयोगको बुधबारको निर्णयबाट साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता भएका हुन् । आयोगले ती दललाई चुनाव चिह्न समेत प्रदान गरेको छ ।





