आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस


९ आश्विन २०७६, बिहीबार १०:३३ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । सन् १९४६ मा बसेको संयुक्त राष्ट्र संघको महासभामा संसारबाट परमाणु हतियार निर्मुल पार्ने संकल्प गरिएको थियो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए ।

अमेरिकाले आफ्नो परमाणु उर्जा आयोगलाई सन् १९५२ मा भंग गरेको थियो । तर त्यसअघि नै जापानको नागासाकी र हिरोसिमामा अमेरिकाले गरेको परमाणु आक्रमणले लाखौं मानिसको ज्यान लिएको थियो । संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् ।

संसारमा अहिले करिब १४ हजार परमाणु हतियार रहेको अनुमान छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले परमाणु हतियार मानिसहरुका लागि अनपेक्षित खतराका रुपमा रहेको बताएका छन् । उनले परमाणु हतियार प्रयोग गरी आक्रमण गर्ने चेतावनीबाट मुक्त हुन परमाणु हतियारबाटै मुक्त हुनुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here