जनकपुरमा प्रहरीले गोली हानेर समात्यो दुई भारतीयसहित चार डकैत


९ आश्विन २०७६, बिहीबार १०:४४ मा प्रकाशित

जनकपुरधाम । जनकपुरको जानकी फर्निसिङ पसलमा डकैती गर्ने क्रममै दुई भारतीयसहित चार डकैतलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद गरिएको हो ।पक्राउ पर्नेमा भारत बिहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको बृदावन नगरपालिका घर भएका ३५ वर्षीय गगण पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह छन् । पक्राउ गर्ने क्रममा सिंहलाई गोली लागेको छ । खुट्टामा गोली लागेको सिंहलाई उपचारका लागि प्रहरीले जनकपुर अंचल अस्पतालमा भर्ना गराएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार बिहान साढे ३ बजे पसलको सटर फोड्दै गर्दा प्रहरीले देखेपछि पक्राउ गर्न खोज्दा डकैतहरु भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले तीन राउण्ड गोली चलाएर दुई जनालाई समात्यो । घटनास्थलबाट भागेका थप दुई डकैत पनि पक्राउ परिसकेका छन् । एसपी खनालले भने, ‘चाडपर्व नजिकिएपछि प्रहरीले रातभर गस्ती गर्न थालेका छन्, सोही क्रममा डकैतहरु डकैती गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् ।’ उनले उनीहरुको साथबाट लोडेड अवस्थामा एक थान कटुवा पेस्तोल, केहि राउण्ड गोली र पसलको सटर फोड्ने विभिन्न उपकरण समेत बरामद भएको जानकारी दिए ।

सटर फोडेर डकैत पसल भित्र छिरेको दृष्य पसलको सिसि क्यामेरामा समेत कैद भएको छ । अहिले घटनास्थलमा सर्वसधारणको भिड लागेको छ । पसल संचालकका अनुसार सटर फोडेर भित्र रहेको मात्र ९ सय रुपैँया निकालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here