कनकाई । कनकाई नगरपालिकाले अपाङ्गता भएका ३५ जना व्यक्तिहरुलाई सोमवार एक कार्यक्रमका बिच सहायक सामाग्री वितरण गरेको छ ।
अपाङ्गता समावेशी कार्यक्रम अन्तर्गत नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा ह्वील चेयर, ट्राइसाइकल, सेतो छडी, एल्बो स्टिक, बैशाखी लगायतका सहयोग सामाग्री वितरण गरिएको हो । वितरण भएका सहायक सामाग्री मध्ये अपाङ्ग पुनस्थापना समाज अनाम नगर काठमाण्डौंबाट आठ वटा ह्वील चेयर र ३ वटा ट्राईसाइकलको सहयोग प्राप्त भएको हो भने अन्य सबै सामाग्री कनकाई नगरपालिकाले व्यवस्थापन गरेको नगर प्रमुख पोखरेलले बताए ।
सहयोग सामाग्री वितरण गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले अपाङ्ग साथै जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य विमा गर्नलाई आवश्यक पर्ने सबै रकम कनकाई नगरपालिकाले बेहोर्ने बताएका छन् ।





