झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधिन योजना गुणस्तरहीन


६ आश्विन २०७६, सोमबार १८:४६ मा प्रकाशित

झापा । फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधिन अवस्थामा रहेको योजनाका कामहरु गुणस्तरहीन भइरहेका छन् ।

भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौ योजनाका कामहरु निर्माणाधिन अवस्थमा रहेका छन् । त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियर सहित टोली नखटिँदा ठेकेदारले कमसल समाग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ । भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराउन साथ नगर प्रमुख जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगाएका छन् ।

भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको संगम चोकदेखि जनताचोक सम्मको इँटा जडान गरिएको सडक नालाको काम धमाधम भइरहेको छ । तर, सो सडक नाला तोकिएको मापदण्ड विपरीत गुणस्तरहीन बन्न थालेपछि नगर प्रमुख श्रेष्ठ निर्माणस्थल पुगेरै आइतबार दिउँसो ठेकेदारलाई नाला भत्काउन लगाएका हुन् । निर्माण कार्यमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरिरहेको स्थानीय बताउँछ । गुणस्तरहीन काम भएको जानकारी पाउन साथ नगर प्रमुखले नाला भत्काउन लागेको वडा सदस्य प्रकाश शर्माले बताए ।

एक नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा समपुरक कोष मार्फत संगम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेका थिए । सोही बजेट मार्फत नगरपालिकाले न्युनत अंक करिब एक करोड १८ लाख तोकेर सुचना प्रकाशन गरेका थिए । २०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिए ।

करिब ५ सय ४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला बनाउने कामको सम्झौता यही पुस १९ गतेसम्म रहेको इन्जिनियर रंजितकारको भनाई छ । सडक नालामा माटो मिसाएको बालुवा प्रयोग गरेको पाइएकोले मेयरले नाला भत्काउन लगाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here