पर्वत । सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो । उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ ।
शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । त्यहाँ कार्यरत मजदुरका अनुसार उनका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि सुरक्षित छन् ।





