यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने


६ आश्विन २०७६, सोमबार १३:२० मा प्रकाशित

काठमाडौं । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताए ।‘नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ’ उनले भने, ‘तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो । त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्छ ।’ गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो । मनसुन सकिन जुन किसिमको वातारण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन ।

मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै, मनसुन अन्त्य हुने बेलामा पूर्वतिर मनसुनी प्रणाली मकजोर हुँदै जान्छ तर, अहिले पूर्वमा मनसुन सक्रिय छ । अर्का मौसविद् बरुण पौडेलका अनुसार यस वर्ष औसतभन्दा कम वर्षा भएको छ । ‘मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने छैन,’ मौसमविद् पौडेलले भने, ‘मनसुनी गतिविधि केही बाँकी नै रहेकाले दिउसो घाम लागी देशका केही भू–भागमा बेलुका तथा रातको समय हल्कादेखि मध्यम हुनेगर्छ तर वर्षा लगातर नभई छोटो समय हुनेछ। यसमा अत्तिनुपर्ने कुरा छैन ।’

सामान्यतया १ सय दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको सङ्ख्या बढिरहेको छ । आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार र बुधबार पनि सो क्रम यथावत रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलम पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here