बझाङ । बझाङ्गमा दुईलाख १९ हजार नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
बझाङको जयपृथ्बी नगरपालिका वडा नं १० दौलिचौर टोलमा रहेको मान बहादुर बोहरा (पहाडी) को घरमा तास खेलीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङबाट गस्तीमा गएको प्रहरी टोलीले छापा मार्दा दुई लाख १९ हजार, पाँच सय बहत्तर नगद सहित ५ जना जुवाडे पक्राउ परेका हुन् ।
आईतबार राति जिल्ला प्रहरी कार्यालय प्रमुख गणेश बमको नेतृत्वमा गस्तीमा गएको प्रहरी टोलीले उक्त परिमाणको नगद र जुवाडेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका जिल्ला कमिटी सदस्य सुर्मा गाउँपालिका २ घर भएका ३८ बर्षका सेर बहादुर बोहरा, घरबेटी समेत रहेका सोहि गाउँपालिका १ बस्ने ४० बर्षका मान बहादुर बोहरा (पहाडी), सोहि गाउँपालिका बस्ने बर्ष २८ का देवचन्द्र बोहरा, र जयपृथ्बी नगरपालिका ८ बस्ने बर्ष ४० का मंगल बोहरा , हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ३ बस्ने ३९ बर्षका फन्जुङ लामा पक्राउ परेको डिएसपी गणेश बमले जानकारी दिए ।
उनका अनुसार जिल्लामा हुने अनैतिक कार्यहरुलाई नियन्त्रण गर्नको लागि अहिले जिल्ला प्रहरी कार्यालयले राति बजारमा निगरानी बढाउँदै आएको छ ।





