चितवन मेडिकल कलेजको आन्दोलन स्थगित, अवैधरूपमा लिएको शुल्क फिर्ता गर्ने


४ आश्विन २०७६, शनिबार १८:४० मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेजले विद्यार्थीसँग अवैधरूपमा असुलेको बढी शुल्क फिर्ता गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको मेडिकल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी र अभिभावकाबीचको वार्तामा बढी लिएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने लिखित सहमति भएको हो । कलेजले शुल्क फिर्ता गर्ने र विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन भोलिबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । यो सहमतिसँगै विद्यार्थीको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिस न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थी र अभिभावक सहभागि भएका थिए । मेडिकल कलेजले सरकारले तोकेभन्दा १२ लाखभन्दा बढी शुल्क अवैध रूपमा असुलेको भन्दै विद्यार्थी चरणबद्ध आन्दोलनमा रहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here