संखुवासभा । मंगलबार राति अरुण नदीमा जिप दुर्घटना हुदाँ ६ जना बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोलीले फकिएको छ ।
गोताखोर टोलीले तिन दिन सम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि काठमाण्डौं फकिएको हो । बेपत्ता जिप र यात्रुको खोजी गर्न विहिबार गोताखोरको टोली घटना स्थल आइपुगेको थियो । शनिबार पनि माथिल्लो क्षेत्रमा निरन्तर वर्षाका कारण अरुण नदीको बहाव उच्च र धमिलो भएको छ । बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ । बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटना स्थल संखुवासभा आइपुगेका थिए ।
उनीहरु बिहीबार दिउँसो सेनाको हेलिकोप्टरबाट तुम्लिङटार आएका हुन् । गोताखोर टोलीले शनिबार पनि बेपत्ता यात्रु र जिप पत्ता लगाउन नसकेपछि काठमाण्डौं फर्किएको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले जानकारी दिए । बेपत्ता यात्रु र जिपको खोजी प्रहरी र स्थानीयले मंगलबार रातिदेखि नै गरिरहेको भए पनि फेला पार्न नसकेपछि गोताखोर बोलाइएको थियो । गोताखोरलाई बुधबार नै बोलाइएको भए पनि खराव मौसमका कारण बिहीबार मात्र गोताखोर टोली आइपुगेको थियो ।

बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । जिप दुर्घटना बाट खाँदबारी नगरपालिका–९ का २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा श्रेष्ठ उनको दुई महिनाको छोरा समिर श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरू तीनैजना एकै परिवारका हुन् । त्यस्तै, खाँदबारी–९ का २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु जिल्ला खोटाङका २९ वर्षीय खबरमान पिठाकोटी र गाडी चालक खाँदबारी नगरपालिका–९ ढुंगेधाराका २५ वर्षीय सन्तोष बिक बेपत्ता भएका हुन् ।
बिरामी प्रमेश थापा मगर र समिर श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारीले रिफर गरेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जिप अक्करको भीरबाट ५० मिटर तल अरुण नदीमा खसेर बेपत्ता भएका हुन् ।