Tuesday, 20 October 2026
Suryodaya Online
३ कात्तिक २०८३, मंगलबार
विज्ञापन

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

Suryodaya Online२३ असोज २०८३admin0 प्रतिक्रिया

‘आँखालाई माया गरौँ’ । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र हाम्रो दैनिक जीवनलाई सहज बनाउँछ । त्यसैले आँखाको स्वास्थ्यप्रति सचेत हुनु भनेको केवल दृष्टि जोगाउनु मात्र होइन, जीवनको गुणस्तर जोगाउनु पनि हो ।

आँखाले संसारलाई हामीसँग र हामीलाई संसारसँग जोड्छ । त्यसैले संस्कृतमा भनिएको छ– ‘सर्वेन्द्रियाणां नयनं प्रधानम्’, अर्थात् सबै इन्द्रीयमध्ये नेत्रलाई प्रमुख मानिन्छ।

हामीमध्ये धेरैले जीवनको कुनै न कुनै समयमा आँखासम्बन्धी समस्या सामना गर्नुपर्ने हुन्छ । कसैलाई जन्मजात समस्या हुन सक्छ, कसैलाई बाल्यावस्थामा दृष्टिदोष हुन सक्छ भने उमेर बढ्दै जाँदा विभिन्न प्रकारका आँखाका रोग देखिन सक्छन् ।

करिब ४० वर्षको उमेरपछि नजिकका अक्षर वा वस्तु धमिलो देखिन थाल्नु सामान्य उमेरजन्य परिवर्तन हो । यसलाई उमेरसँगै नजिकको दृष्टि कमजोर हुने अवस्था भनिन्छ ।

यस्तो अवस्थामा नजिक हेर्नका लागि चस्माको आवश्यकता पर्न सक्छ । तर ४० वर्षपछि आँखाको जाँच गर्नुको उद्देश्य चस्माको नम्बर पत्ता लगाउनु मात्र होइन । आँखाभित्र लुकेर बस्न सक्ने विभिन्न रोगको प्रारम्भिक पहिचान गर्नु पनि हो।

त्यसैले आँखामा समस्या आएपछि मात्र होइन, समस्या आउनुअघि नै नियमित रूपमा आँखाको जाँच गराउनु आवश्यक छ।

बालबालिकाको आँखाको स्वास्थ्य

बालबालिकाको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । बाल्यकालमा दृष्टिको उचित विकास हुन सकेन भने त्यसको असर आँखामा मात्र नभई बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक विकासमा समेत पर्न सक्छ ।

बच्चा जन्मिएपछि उसको आँखाको व्यवहारमा अभिभावकले ध्यान दिनुपर्छ । जन्मेको केही समयपछि प्रकाशतर्फ प्रतिक्रिया जनाउँछ कि जनाउँदैन, केही महिनामा अनुहार वा वस्तुलाई आँखाले पछ्याउँछ कि पछ्याउँदैन, आमाबुबासँग आँखाको सम्पर्क गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बच्चाको आँखाको चाल असामान्य देखिएमा, एउटा आँखा अर्को दिशातर्फ फर्किएको देखिएमा वा आँखा डेढो देखिएमा त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन ।

विशेषगरी समयभन्दा अगाडि जन्मिएका, जन्मदा तौल कम भएका वा जन्मिएपछि लामो समयसम्म अक्सिजन तथा नवजात सघन उपचारको आवश्यकता परेका शिशुहरूमा दृष्टिपटलको विशेष रोग हुने जोखिम हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार समयमै आँखाको परीक्षण गराउनु अत्यन्त आवश्यक हुन्छ ।

बच्चाको आँखाबाट निरन्तर पानी वा कचेरा आउँछ ?

केही बच्चामा जन्मेदेखि नै वा जन्मेको केही समयपछि एउटा आँखाबाट निरन्तर पानी वा कचेरा आउने समस्या देखिन्छ। यसको एउटा सामान्य कारण आँसु बग्ने नली बन्द हुनु हो । चिकित्सकको सल्लाहअनुसार उचित तरिकाले मालिस तथा आवश्यक उपचार गर्दा धेरैजसो अवस्थामा यो समस्या सुधार हुन्छ।

त्यसैगरी बच्चाको आँखा धेरै रातो हुने, चिलाउने वा सुन्निने समस्या भएमा पनि त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन। धुलो, धुवाँ, गर्मी वा एलर्जीका कारण यस्तो हुन सक्छ। तर आँखामा अत्यधिक रातोपन, दुखाइ, प्रकाश हेर्न गाह्रो हुने वा दृष्टि कम हुने जस्ता समस्या भएमा तत्काल आँखा परीक्षण गराउनुपर्छ।

मोबाइलभन्दा बाहिरको संसार पनि देखौँ

आजको समयमा बालबालिकाको जीवन मोबाइल, ट्याब्लेट, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणसँग निकै नजिकिएको छ । लामो समयसम्म नजिकको वस्तु हेर्ने, घरभित्र मात्र बस्ने र प्राकृतिक उज्यालोमा कम समय बिताउने बानीले बालबालिकामा निकटदृष्टिदोष अर्थात् टाढाका वस्तु धमिलो देखिने समस्या बढ्ने जोखिम हुन्छ।

बालबालिकालाई दैनिक रूपमा बाहिर खेल्ने र प्राकृतिक उज्यालोमा समय बिताउने अवसर दिनु आँखाको स्वास्थ्यका लागि निकै महत्वपूर्ण छ ।

साथै पढ्दा पर्याप्त प्रकाशको व्यवस्था गर्ने, किताब आँखाको धेरै नजिक नराख्ने, लामो समयसम्म लगातार नजिकको काम नगर्ने र चिकित्सकले सिफारिस गरेको चस्मा नियमित प्रयोग गर्ने बानी बसाल्नुपर्छ।

आँखाको स्वास्थ्यका लागि हरियो सागसब्जी, फलफूल, गेडागुडी, दूध तथा अन्य पोषिलो खाद्य पदार्थसहित सन्तुलित भोजन आवश्यक हुन्छ । कुनै एउटा मात्र खाद्य पदार्थले आँखाको शक्ति बढाउँछ भन्ने सोच राख्नु भने उचित हुँदैन ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private