पोखराको न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन शुरु, अटेर गर्ने सवारी साधनलाई कारबाही


५ जेष्ठ २०८३, मंगलवार ११:०४ मा प्रकाशित


काठमाडौं । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तिब्रता दिएको छ ।


महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो । नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो ।

उहाँले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पार्नुभयो । महानगरले यो अभियान शुरु गर्नुअघि गत शुक्रवारदेखि आईतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरबासीलाई यसबारे जानकारी गराएको थियो ।

सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही शुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ । 

नगर प्रहरी निरीक्षक थापाले मंगलवारदेखि थप कडाइ गरिने बताउनु भयो । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उहाँको भनाइ छ । महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्युनिकरणमा सहयोग पु¥याउन सम्पूर्ण सवारी धनी तथा नगरबासीलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here