भूसेवा फर्म आन्दोलनका कारण दुई दिनदेखि सुनसरी मालपोत सेवा ठप्प, दैनिक १ करोड राजश्व प्रभावित


२१ चैत्र २०८२, शनिबार १६:५० मा प्रकाशित

सुनसरी । छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ । 


दैनिक सरदर १ करोड हाराहारी राजश्व संकलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजैबाट सुनसान छ । फाट्टफुट्ट आएका सेवाग्राही समेत भू–सेवा नहुँदा मार्कामा परेका छन् । इजाजत पाएका फर्मले सेवा बन्द गरिदिदा कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् ।

आएका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् । कार्यालय परिषर बाहिर रहेका भू–सेवा केन्द्रले काम रोक्दा मालपोतको सम्पूर्ण सेवा बन्द हुने गरेको छ । जसले गर्दा समेत कार्यालय सुनसान बन्न पुगेको छ ।

कार्यालयमा भू– सेवा डेस्क नहुनु र आन्दोलन भैगएमा के गर्ने भन्ने पूर्व तयारी समेत नभएकाले मालपोतको कामकाज पूर्ण ठप्प बन्न गएको देखिएको छ । सुनसरी इनरूवा मालपोतबाट भू–सेवा इजाजत लिने फर्मको संख्या ५२ रहेको छ । निरन्तर सेवा संचालनमा रहेका भू–सेवा केन्द्रको संख्या भने दुई दर्जन छ ।

सरकारको निर्देशनमा भएको अनुगमनका क्रममा सुनसरी मालपोतबाट १३ जनालाई सार्वजनिक सेवामा  बाधा पुर्याएको भन्दै प्रहरीले प्रकाउ गरेको थियो । सोही पक्राउको बिरोधमा भू–सेवा केन्द्र र लेखापढी फर्म आवद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिदा कार्यालयको सेवा नै प्रभावित बन्न पुगेको छ ।

प्रहरीले सुनसरी मालपोत र यातायात कार्यालय इटहरीबाट गरी १८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनिहरू सबैको हकमा ५ दिन म्याद थप गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here