काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक छाउँदा ललितपुर (पाटन) मा भने एउटा बेग्लै र अद्वितीय परम्पराले निरन्तरता पाउँछ– ‘एकल घोडेजात्रा’ ।
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा मनाइरहँदा पाटनको गल्ली र चोकहरूमा भने मल्लकालीन इतिहास बोकेको एउटा मात्र घोडा दौडाएर यो जात्रा मनाइन्छ । पाटनको यो विशिष्ट जात्रा परम्परागत रूपमा ‘मुर्दा गुठी’ (जसलाई भीमसेन गुठी च्यो–खलः पनि भनिन्छ) ले सञ्चालन गर्दै आइरहेको छ ।
गुठीका सदस्य सन्तमान महर्जनकाअनुसार यो जात्रा केवल घोडा दौडाउने पर्व मात्र होइन, यो त एउटा सामान्य नागरिकलाई एक दिनका लागि ‘राजा’ को सम्मान दिने दुर्लभ सांस्कृतिक परम्परा हो ।
नागले छाता ओढाएको त्यो नोकर, जो राजा बने
पाटनको एकल घोडेजात्राको शुरुवात रोचक किंवदन्तीसँग जोडिएको छ । नेवारी भाषामा ‘च्यो’ भन्नाले नोकरी वा कामदार भन्ने बुझिन्छ । मल्लकालमा पाटन दरबारका राजाहरूको घोडाको स्याहारसुसार गर्ने जिम्मा यही च्यो–खलः (गुठी) का सदस्यहरूको हुन्थ्यो ।
सन्तमान महर्जन पुराना पुस्ताबाट सुन्दै आएको किंवदन्ती सुनाउनुहुन्छ, ‘एकदिन दरबारको घोडा स्याहार गर्ने नोकर कामले थाकेर सुतिरहेको थियो । त्यही बेला मल्ल राजा त्यहाँ पुग्दा उनले अचम्मको दृश्य देखे । ती सुतिरहेका नोकरको शिरमाथि पाँचवटा टाउको भएको नागले छाता ओढाइरहेको थियो ।’
राजाको शीरमा बस्नुपर्ने नाग एउटा सामान्य नोकरको शिरमा देखेपछि राजाले ती व्यक्ति बत्तीस लक्षणयुक्त भएको महशुस गरे । त्यसपछि राजाले औंसीको दिन (घोडेजात्राको दिन) आफ्नो शाही घोडा ती नोकरलाई चढ्न दिने र त्यस दिनका लागि उनलाई ‘राजा’ कै सम्मान दिने घोषणा गरे । त्यही मल्लकालीन परम्पराको निरन्तरता स्वरूप आज पनि घोडेजात्राको दिन घोडा चढ्ने गुठियारलाई एक दिनको राजा मानेर जात्रा चलाउने गरिन्छ ।
जो पायो त्यहीले चढ्न पाउँदैनन् घोडा
पाटनको यो घोडा जोसुकैले चढ्न पाउँदैनन् । यसका लागि भीमसेन गुठी च्यो–खलः कै सदस्य हुनु अनिवार्य छ । गुठियारहरूमध्येबाटै पालैपालो घोडा चढ्ने व्यक्ति छानिन्छन् । अहिले यो अवसर ओल्खु च्यो–बाचा (चोछें टोल) का रमेश महर्जनले पाइरहेका छन् । घोडा चढ्नका लागि निवेदन दिएर मात्र पुग्दैन, कडा तालिम पनि लिनुपर्छ ।
‘तालिमविना घोडा चढ्दा दुर्घटना हुनसक्छ ।’ सन्तमान भन्नुहुन्छ, ‘त्यसैले घोडा चढ्ने व्यक्तिले जात्रा अगाडि राजदरबार पछाडि रहेको आर्मी क्याम्प (क्याभलरी) मा गएर दुई–तीन हप्ताको विशेष तालिम लिनुपर्छ । सेनाले पनि हाम्रो परम्परालाई सम्मान गर्दै मज्जाले तालिम र स्वागत गर्ने गरेको छ ।’
यस्तो छ जात्राको विधि
घोडेजात्राको दिन पाटन दरबारको मूलचोकबाट घोडालाई बाहिर निकालिन्छ । त्यसपछि मंगलबजारस्थित भीमसेन मन्दिरमा एकछिन विश्राम गराइन्छ । त्यहाँबाट गुठीको टोल ओल्खु च्यो–बाचामा लगेर घोडालाई दानापानी खुवाएपछि मुख्य जात्रा शुरु हुन्छ ।
ओल्खुबाट ल्वं–ह्र हुँदै भोलढोका गणेश थान पुगिन्छ । मल्ल राजाले स्थापना गरेको गणेशलाई प्राथमिकता दिँदै शुरुमा त्यहाँ परिक्रमा गराइन्छ । त्यसपछि बालकुमारी मन्दिर पु¥याइन्छ । बालकुमारीमा पनि पुरानो राजाको सम्मानस्वरूप परिक्रमा गराएर फेरि गणेश थानमै ल्याइन्छ ।
यसरी तीन पटक घुमाएपछि बालकुमारीको पछाडि ठड्याइएको लिङ्गोमा घोडालाई ढोग्न लगाइन्छ । अन्त्यमा घोडा ल्याउने व्यक्तिलाई पान–सुपारी दिएर बिदा गरेपछि जात्रा सम्पन्न हुन्छ ।
विकृतिमाथि विजय र ज्यापु समाजको साथ
कुनै समय यो ऐतिहासिक जात्रामा विकृति पनि भित्रिएको थियो । घोडालाई लट्ठीले कुट्ने, पछाडिबाट घोच्ने र अनावश्यक दुःख दिने जस्ता अमानवीय व्यवहार र झै–झगडा हुन थालेपछि जात्रा नै रोकिने अवस्थामा पुगेको थियो ।
तर आफ्नो इतिहास र संस्कृति मास्न हुँदैन भनेर गुठियारहरूले प्रहरी प्रशासन गुहारे । २०५१ साल भदौ २५ गते स्थापना भएको ‘ज्यापु समाज’ ले यसमा ठूलो साथ दियो। अहिले ज्यापु समाजका युवा कमिटीहरू आफ्नै पोशाकमा खटिएर जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गरिरहेका छन् ।
पाटनको जात्रा सकिएपछि मात्र काठमाडौंमा शुरु हुन्छ
यो जात्राको अर्को रोचक पक्ष काठमाडौंको घोडेजात्रासँग जोडिएको छ । सन्तमान महर्जनकाअनुसार पाटनको एकल घोडेजात्रा सम्पन्न नभएसम्म काठमाडौंमा घोडेजात्रा शुरु हुँदैन ।
‘पाटनमा जात्रा सम्पन्न भयो भनेर खबर काठमाडौं पठाएपछि मात्र त्यहाँ जात्रा शुरु गर्ने चलन हाम्रो संस्कृतिमा अहिलेसम्म कायमै छ ।’ उहाँ भन्नुहुन्छ ।
एउटा सामान्य कामदारलाई वर्षको एक दिन राजाको सम्मान दिने यो मल्लकालीन परम्पराले नेपाली संस्कृतिको उदारता र ऐतिहासिकता बोकेको छ । मुर्दा गुठी र स्थानीयको सक्रियतामा यो एकल घोडेजात्रा पाटनको गल्लीहरूमा आज पनि उत्तिकै शानका साथ दौडिरहेको छ ।






