रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण


४ चैत्र २०८२, बुधबार १७:२७ मा प्रकाशित


मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । 


नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ । उहाँले यसवर्ष रमजानको अवसर पारेर काठमाडौंको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताउनु भयो ।

नेपाल–भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजानको समयमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले यसअघि भूकम्प, कोभिड लगायतको समयमा पनि उक्त संस्थाले सहयोग गरेको बताउनु भयो ।

अन्सारीकाअनुसार रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर परिवारले पनि सहज रूपमा चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो ।

उहाँले ईस्लामले आवश्यक परेमा बेलामा अरुलाई सहयोग गर्नु नै धर्म भन्ने सिकाएकोले दुःखी गरिबहरुलाई सहयोग गरेको बताउनु भयो । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको संयुक्त पहलमा ३ सय भन्दा बढी घरपरिवार लाभान्वित भएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here