इलाम । ज्ञानु भट्टराई, हिजो बेलुका रोङ–४ बाघखोर भिरमा खसेको सुख्खा पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्ग आज विहान ११ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
गएराती करिब ९ बजे कोल्बुङ क्षेत्रमा भिरबाट ठूलो मात्रामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकोे थियो । झापा, इलाम, पाँचथर र ताप्लेजुङ हुँदै यात्रा गर्ने यात्रुबाहक तथा मालवाहक सवारी साधनहरूलाई ठूलो अवरोध पु¥याएको थियो ।
अवरुद्ध हुने क्रममा झापा–इलाम सिमानामा रहेको जोरकलस नजिक सवारी साधनहरू रोकिएका थिए । रोङ गाउँपािलका अध्यक्ष मणी कुमार स्याङ्बोले राजमार्ग सुचारु पार्न निर्माण कम्पनीले दुईवटा एस्काभेटर र एक भ्याकुलोडर परिचालन गरी पहिरो हटाउने काम गरेको बताउनुभयो ।
उहाँले कार्यमा तीव्रता दिँदै बेलुका सम्ममा सडक सफा गरी यातायात एकतर्फी सुचारु गरिएको बताउनुभयो । राजमार्ग अवरुद्ध रहँदा, आपतकालीन अवस्थामा रहेका एम्बुलेन्स र साना सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गरेर हाँसपोखरी–मझुवा हुँदै शान्तिनगरको बाटोबाट झापा–इलाम यात्रा गरेको स्थानीय स्रोतले जनाएको छ ।
यातायात विभागका कर्मचारीले यस घटनाले यात्रुबाहक र मालवाहक सवारीमा परेको असुविधालाई न्यून गर्न तत्काल उद्धार र वैकल्पिक मार्गको व्यवस्था गरेको जानकारी दिएका छन् । साथै, भविष्यमा यस्तो दुर्घटना नदोहो¥याउन ढलान र भिर सुदृढीकरणका कार्य अघि बढाइने बताइएको छ ।
यस घटनाले प्राकृतिक जोखिम क्षेत्रमा सडक पूर्वाधारको संवेदनशीलता र समयमै पहिरो नियन्त्रणको आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।






