नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ ।
बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने प्रतिज्ञा समेत गर्नुभयो ।
उहाँले जेन—जी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको पनि बताउनु भयो । उहाँले संघीयतालाइए जोगाउँदै यसको थप प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरुको हल गर्ने प्रतिज्ञा समेत गर्नुभयो ।
उहाँले मधेशकै छोराले पढाएका व्यक्तिहरु विगतमा शक्ति केन्द्रमा पुगेको भएपनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस झरेको जिकिर गर्नुभयो । उहाँले मधेशको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल पनि गर्नुभयो ।
उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमको पूर्ण कार्यान्वयनको सपना अबको पाँच वर्षभित्र पूरा गर्ने दाबी पनि गर्नुभयो ।






