राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाउने घोषणा गरेको छ ।
बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताउनुभएको हो । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताउनु भयो ।
खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभुत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उहाँले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गर्नुभयो । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
विकासमा दलगत भेदभाव नगरी काँग्रेस, एमाले र माओवादी लगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै उहाँले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्वमा ध्यान दिनुपर्ने बताउनु भयो ।
‘देशलाई स्विजरल्याण्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामु चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले आफू केवल भोटका लागि मात्र नभई काम गर्नका लागि जनताको बीचमा आएको स्पष्ट पार्नुभयो । ‘सुदूर’ (टाढा) रहेको यस क्षेत्रलाई ‘सुनजिक’ (नजिक) बनाउने लक्ष्यका साथ पार्टीले जनतासँग कामको सूची (लिस्ट) मागेको बताउनु भयो ।






