३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण


२७ माघ २०८२, सोमबार १६:४१ मा प्रकाशित

काठमाडौं । संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । 


राष्ट्रिय सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार कानून मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् ।

उहाँले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । 

हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो । उहाँले त्रुटी भएका ऐन तथा कानून संशोधन गर्न सरकार पर्यत्नशील रहेको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here