काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ ।
सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाई थियो ।
सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरुले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताउनु भयो । प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरुले सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।






