काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपालको समृद्धिका लागि अब राजनीतिकभन्दा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्र बलियो भएन भने जति राम्रो राजनीतिक व्यवस्था र संविधान ल्याएपनि त्यसमाथि प्रश्न उठ्ने बताउँदै अहिले पनि अर्थतन्त्र कमजोर बन्दा प्रश्न उठेको बताउनु भयो । आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै भट्टराईले अब आर्थिक पक्षलाई कम आँक्न नहुने बताउनु भयो ।
उहाँकाअनुसार दलहरुले लामो समय राजनीतिक परिवर्तनका लागि समय खर्च गरिसकेकाकाले अब राजनीतिक नभई आर्थिक एजेण्डालाई प्रमुख प्राथमिकतामा पर्नुपर्छ ।
समृद्धिको एजेण्डा, दृष्टिकोण, नीति र कार्यान्वयनका लागि राजनीतिक दलहरूले अग्रसरता लिनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक दलहरूले दृढता देखाउन जरुरी रहेको बताउनु भयो । यदि राजनीतिक दलहरूले आर्थिक एजेण्डा उठाएर कार्यान्वयन गर्न नसक्ने हो भने राजनीतिक दलहरूको सान्दर्भिकता हराएर जाने उहाँको भनाइ छ ।
भट्टराईकाअनुसार अब चुनावी एजेण्डामा पूर्वाधारको भन्दा पनि रोजगारी, शिक्षा स्वच्छ वातावरणको हुनुपर्छ । मतदाताले रोजगारी, स्वच्छ वातावरणजस्ता मुद्दामा चासो देखाइरहेको र खासगरी सेवा क्षेत्र तथा सुशासनको प्रत्याभुति दलहरूसँग खोजिरहेको उहाँको भनाइ छ ।
डा. भट्टराईकाअनुसार सबै क्षेत्रलाई निजीकरण गर्न सक्ने अवस्था अहिले छैन । तर उदार नीति लिन सकिन्छ ।






