काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उहाँको भनाई छ । महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।
उहाँकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उहाँले नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो । राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिष्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिष्पर्धा एक–अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रश्तुत गरेर हुनुपर्ने उल्लेख गर्नुभयो ।
मर्यादित र मुद्दा–आधारित प्रतिष्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उहाँको विश्वास छ । उहाँकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो ।
उहाँले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताउनु भयो । उहाँले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहेपनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले राजनितिक दलहरुको कार्यन्वयनमुखी घोषणा पत्र बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले गर्नसक्ने कामहरुलाई मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिनुभयो । सुशासन, रोजगारी र आर्थिक विकास काँग्रेसको मुख्य एजेण्डा हुने उहाँको भनाई छ ।






