काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताउनु भयो ।
उहाँकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिनुभएको सापकोटाले जानकारी दिनुभयो । यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उहाँको भनाइ छ ।
उहाँले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गर्नुभयो ।
उहाँले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पु¥याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गर्नुभयो ।






