अनारमनी लिबर्टी एसएस कलेजमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न


१० माघ २०८२, शुक्रबार २१:२८ मा प्रकाशित

झापा । झापाको बिर्तामोड–५ मा अवस्थित अनारमनी लिबर्टी एसएस कलेजले विद्याकी देवी सरस्वतीको पूजा तथा सांस्कृतिक कार्यक्रम विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ ।

कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । सरस्वती पूजाको अवसरमा बाल कलाकारहरूले समेत आ–आफ्ना कला प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

कार्यक्रमको उद्देश्य शैक्षिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कार, संस्कृति र सिर्जनात्मक क्षमतालाई प्रवद्र्धन गर्नु रहेको कलेजले जनाएको छ। विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्य, गायनलगायत विभिन्न सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

कलेजका प्रधानाध्यापक टंक भट्टराईले विद्याकी देवी सरस्वतीको पूजा तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सिर्जनात्मकता र बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँका अनुसार कलेजलाई प्रदेश नम्बर १ कै उत्कृष्ट कलेज बनाउने लक्ष्यसहित शैक्षिक तथा भौतिक पूर्वाधार विस्तारमा जोड दिइँदै आएको छ ।

प्रधानाध्यापक भट्टराईले नयाँ संरचना निर्माण सम्पन्न भएसँगै आउँदो आर्थिक वर्ष २०८३ सालदेखि नयाँ कक्षाका विद्यार्थी भर्ना लिने तयारी गरिएको जानकारी दिनुभयो । साथै, २०८३ सालदेखि प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा नयाँ विद्यार्थी भर्ना लिइने पनि उहाँले स्पष्ट गर्नुभयो ।

उहाँका अनुसार कलेजले उच्चस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । त्यसका लागि प्रत्येक विषय अध्यापन गराउने शिक्षकले कम्तीमा स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

कलेजले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । नृत्य, गायन, खेलकुद, कराते लगायत विभिन्न विधामा विषयगत शिक्षकमार्फत नियमित प्रशिक्षण प्रदान गरिँदै आएको कलेज प्रशासनले जनाएको छ । यस्ता गतिविधिले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास कलेजले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here