काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिनुभएको छ ।
आईतवार काठमाडौंमा आफूपक्षिय नेताहरुको भेलामा बोल्दै उहाँले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भएपनि निर्वाचनमा होमिन निर्देशन दिनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिएपनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोईरालले भन्नुभएको बताउनु भयो ।
भेलामा नेता कोईरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्नुहुन सबैलाई अनुरोध गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
शुक्रवार नेपाली काँग्रेसको आधिकारिकताबारे आयोगले बहुमतबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । त्यससँगै शेरबहादुर देउवा पक्ष विरोधमा छ । देउवा पक्षले सर्वोच्च अदालतमा आज रिटदर्ता गराइसकेको छ ।
भेलामा नेता कोईरालाले निर्वाचनसँगसँगै आगामी १५ औं महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभएको पनि ती नेताले जानकारी दिनुभयो । नेपाली काँग्रेसनेले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैँ निरन्तर लागिरहनु पर्ने भन्दै निर्वाचनमा ध्यान केन्द्रित गरेर आफ्नो भूगोल क्षेत्रमा जान आग्रह गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।






