काठमाडौं । नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक आन्दोलनको प्रमुख धरोहर हो । २००६ सालमा स्थापित यो दलले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन र २०६२÷६३ को आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको छ ।
तर पार्टीको यो गौरवपूर्ण इतिहास गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक द्वन्द्वले कलंकित पनि बनेको छ । विशेषगरी बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिको उत्तराद्र्ध (२०४७ यता) मा यी द्वन्द्वहरूले प्रमुख नेताहरूको पार्टी परित्याग, निष्कासन र ठूला विभाजनको रूप लिएका छन् ।
गिरिजाप्रसाद कोईरालाको नेतृत्वकालमा परिवारवादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई अलग बनायो । शेरबहादुर देउवा आफैं निष्कासित भएर अलग दल बनाएर फर्किए । र अब, २०८२ मा गगन थापा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि देउवा पक्ष लगभग निष्कासित जस्तै भएको छ । यो संकटको श्रृंखलाले काँग्रेसको एकता र प्रजातान्त्रिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।
पार्टीको प्रारम्भिक विभाजनहरूको पृष्ठभुमि
काँग्रेसको इतिहासमा विभाजन नौलो होइन । स्थापनाको छोटो समयमै २००९ सालमा मातृकाप्रसाद कोइैराला र वीपी कोईराला बीचको मतभेदले पार्टी चार टुक्रा भएको थियो । मातृकाले अलग दल गठन गरे तर ती दलहरू लामो समय टिकेनन् । वीपीको नेतृत्व बलियो रह्यो । यो विभाजन मुख्यतः संविधानसभा निर्वाचन र दरबारसँगको सम्बन्धमा केन्द्रित थियो । तर बहुदलीय व्यवस्थापछिका विभाजनहरू व्यक्तिगत गुटगत द्वन्द्व, परिवारवाद र नेतृत्वको एकलकाँटे शैलीमा बढी आधारित भए । गिरिजाप्रसाद कोईरालाको प्रभुत्वकालमा कोईराला परिवारको प्रभावले धेरै वरिष्ठ नेताहरूलाई असन्तुष्ट बनायो । जसको परिणाम उत्तराद्र्धमा प्रमुख नेताहरूको पार्टी परित्याग भयो ।
गणेशमान सिंहको पार्टी परित्यागः नैतिक विद्रोहको प्रतिक
नेपाली काँग्रेसका ‘लौह पुरुष’ गणेशमान सिंह २०४६ को जनआन्दोलनका सर्वोच्च नेता थिए । उनले गिरिजाप्रसाद कोईरालालाई प्रधानमन्त्री बनाउन आफैं पछि हटेका थिए । तर २०४८ मा कोईराला सत्ता र पार्टीमा प्रभुत्व जमाएपछि परिवारवाद, भ्रष्टाचार र निरंकुश शैली बढ्यो । सिंहले यी प्रवृत्तिलाई प्रजातन्त्रको लागि खतरा ठाने । उनले पार्टीका नेताहरू व्यक्तिगत लाभ र आर्थिक समृद्धिमा लागेको, जनता गरिबीमा रहेको आरोप लगाए ।
२०५१ सालमा गणेशमान सिंहले नेपाली काँग्रेसबाट औपचारिक राजीनामा दिए । यो राजीनामा नैतिक विद्रोहको रूपमा चिनिन्छ । राजीनामा दिएपछि उनी सक्रिय राजनीतिबाट अलग भए र २०५४ मा देहान्त भए । उनको यो कदमले काँग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कमजोरी उजागर ग¥यो र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि ठूलो प्रश्न उठायो । गणेशमानले पार्टी छोडे पनि उनको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ । तर उनको परित्यागले उत्तराद्र्धको संकटको शुरुवात भएको मानिन्छ ।
कृष्णप्रसाद भट्टराईको अलगावः सन्त नेता र गुट द्वन्द्वको शिकार
कृष्णप्रसाद भट्टराई (किशुनजी) वीपी कोईरालाका निकटतम सहयोगी थिए । उनी २०४७ मा पहिलो निर्वाचित प्रधानमन्त्री बने र जनआन्दोलनमा महत्वपूर्ण भुमिका खेले । सरल जीवन र नैतिकताका लागि प्रसिद्ध भट्टराईलाई ‘सन्त नेता’ भनिन्थ्यो । तर गिरिजाप्रसाद कोईरालासँगको द्वन्द्व र परिवारवादका कारण उनले पार्टीबाट अलग भएको घोषणा गरे ।
२०५६ को चुनावमा काँग्रेसले बहुमत ल्याएपछि भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने । तर कोईराला पक्षको दबाब र गुटबन्दीले ९ महिनामै राजीनामा दिन बाध्य भए । कोईरालाले उनलाई हटाएर आफैं सत्ता सम्हाले । यसपछि भट्टराईले पार्टी बैठकहरूमा भाग लिन छोडे र अलगै बस्ने निर्णय लिए । उनी २०६७ मा देहान्त भए । भट्टराईको यो अलगावले काँग्रेसको आन्तरिक द्वन्द्वलाई थप उजागर ग¥यो र उत्तराद्र्धमा नेताहरूको पार्टी परित्यागको प्रवृत्तिलाई बलियो बनायो ।
शेरबहादुर देउवाको निष्कासन र अलग दल गठन
शेरबहादुर देउवा यो क्रममा फरक छन् । २०५९ मा गिरिजाप्रसाद कोईराला सभापति रहँदा प्रधानमन्त्री देउवाले संसद् विघटन गरे । पार्टीले यो निर्णयलाई परामर्श नगरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन ग¥यो । देउवाले आफू स्वेच्छिक रूपमा होइन, पार्टीबाट हटाइएर अलग भएको दाबी गर्छन् । यसपछि उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे । यो पार्टीको दोस्रो ठूलो विभाजन थियो । २०६४ मा जनआन्दोलनपछि एकीकरण भएर देउवा मूल पार्टीमा फर्किए र सभापति बने । अन्य नेताहरू जस्तै खुमबहादुर खड्का, विजयकुमार गच्छदार पनि विभिन्न समयमा अलग भए वा निष्कासित भए ।
हालको विभाजनः गगन थापाको उदय र देउवाको संकट
२०८२ पुसमा काँग्रेसभित्रको द्वन्द्व चरमोत्कर्षमा पुग्यो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पार्टी सुधार, पुस्तान्तरण र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आह्वान गरे । पार्टी विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान थियो । जसमा ५४–६० प्रतिशत हस्ताक्षर सङ्कलन भएको थियो ।
पुसमा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन ग¥यो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल लगायत नयाँ कार्यसमिति घोषणा भयो । यसअघि देउवा पक्षले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्कासन गरेको थियो । जसलाई विशेष महाधिवेशनले खारेज ग¥यो ।






