काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गर्नुभएको छ ।
आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताउनु भयो ।
उहाँले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताउनु भयो । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई काँग्रेसबाट भएको हेर्न चाहेको समेत बताउनु भयो ।
उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने प्रश्ताव समेत गर्नुभयो । नेता चौधरीले नेपाली काँग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताउनु भयो ।






