काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उहाँले निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताउनु भयो ।
नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्नुहुँदै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाउनु भयो ।
उहाँले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिनुभयो ।
उहाँले समानुपातिक निर्वाचनको लागी पार्टी सर्वसहमतिले बन्दसूचिमा नाम सिफारिस गरेको जानकारी दिनुभयो । प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटिमा केही विवाद देखिएको उल्लेख गर्नुहुँदै उहाँले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गर्नुभयो ।






