काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाईको काम शुरु गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रवार (आज) बाट सो मतपत्रको छपाईको काम शुरु गरिएको जानकारी दिनुभएको हो । माघ नौ गतेसम्म सकिने गरी सो पत्रको छपाईको काम शुरु गरिएको हो । प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछिबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु गरिनेछ ।
प्रत्यक्ष तर्फको उम्मेदवारहरुको मनोनयन माग ६ गते हुने र नौ गते उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकाले त्यसपछि मतपत्र छपाईको काम शुरु गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । प्रवक्ता भट्टराईले समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको पनि बताउनु भयो ।
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूचि ६४ दलले बुझाएका छन् । त्यसैगरी निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गर्ने मिति पनि छिट्टै तय गर्दैछ । प्रवक्ता भट्टराईले सो आचारसंहिता लागू हुनेगरी मिति तय गर्न लागिएको पनि बताउनु भयो ।






