काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले केन्द्रिय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसलाई एकतावद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उहाँको दाबी छ । उहाँले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो ।
उहाँका अनुसार पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रिय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन गरिएका छन् ।
जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको समेत पोखरेलले जानकारी दिनुभयो ।






