काठमाडौं । सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ ।
स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।
योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताउनु भयो ।
अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा मात्रै करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।
विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ ।
काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ । बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ ।






