सुनसरी । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सुनसरी जिल्लाको गढी गाउँपालिका–२ सत्तेरझोरस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि बर्थिङ सेन्टरमा आवश्यक उपकरणहरू प्रदान गर्नुभएको छ।
एक विशेष कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहजता पुर्याउने उद्देश्यले चौधरी फाउन्डेसनमार्फत उपकरण हस्तान्तरण गर्नुभएको हो। सुरक्षित, सहज र गुणस्तरीय मातृ स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस सहयोगले गर्भवती महिला तथा नवजात शिशुहरूको उपचारमा थप सघाउ पुग्ने उहाँले बताउनुभयो। साथै, उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो।

चौधरी फाउन्डेसनले स्वास्थ्य चौकीका सेवा प्रवाहमा सुधार ल्याउन तथा बर्थिङ सेन्टरलाई स्तरोन्नत, आधुनिक र गुणस्तरीय सुविधा–सम्पन्न बनाउन आवश्यक सबै उपकरणहरू प्रदान गरेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिनुभयो। फाउन्डेसनले सातै प्रदेशका बर्थिङ सेन्टरहरूलाई स्थानीय आवश्यकताअनुसार सहयोग गर्दै आएको र सुरक्षित मातृत्व तथा स्वस्थ समुदाय निर्माणका लागि कार्यक्रम विस्तार गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो।

यसअघि, प्रबन्ध निर्देशक चौधरीले सुनसरीकै औरावनीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई पनि विद्युतसम्बन्धी सामग्रीहरू प्रदान गर्नुभएको थियो।
चौधरी फाउन्डेसनको सहयोग अत्यन्त प्रभावकारी रहेको गढी गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले बताउनुभयो। अध्यक्ष चौधरीले गाउँपालिकाको तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई कदरपत्र प्रदान गरी सम्मान समेत गर्नुभएको थियो।

चौधरी फाउन्डेसनले समाजका विभिन्न क्षेत्रमा निरन्तर रूपमा योगदान दिँदै आएको छ।






