काठमाडौं । नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ—आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेको मुलुक असफल बन्न पुगेको आरोप लगाउनुभएको हो ।
प्रमुख राजनीतिक दलहरुले सुशार संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उहाँको टिप्पणी छ । उहाँले मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उहाँको आरोप छ ।
शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता समेत औंल्याउनु भयो ।
उहाँले आम नागरिकले प्राप्त गर्न नसकेका अधिकारहरुको सुनिश्चितता गर्न पार्टी प्रतिवद्ध रहेको समेत बताउनु भयो ।






