बिर्तामोड । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजद्वारा आयोजित जेसीज सप्ताह कार्यक्रम शनिवार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
सप्ताहको समापनका अवसरमा बुधबारे जेसीज र पत्रकारहरूको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको थियो ।
बुद्धशान्ति-१ को त्रिभुवन माविको खेल मैदानमा भएको सो रोमाञ्चक खेलमा पत्रकारहरूको टोली विजयी भयो। निर्धारित समयभित्र खेल बराबरीमा टुङ्गिएपछि टाइब्रेकरका आधारमा खेलको अन्तिम निर्णय लिइएको थियो।
विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा र बुधबारे जेसीजका अध्यक्ष सुजित बराललगायतले ट्रफी र प्रमाणपत्र वितरण गरे।
कार्यक्रमका प्रमुख अतिथि खतिवडाले बुधबारे जेसीजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबारे जेसीज वर्ष २०२५ का अध्यक्ष सुजित बरालको अध्यक्षतामा सम्पन्न भएको सो सप्ताहव्यापी कार्यक्रममा विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए। समापन कार्यक्रमको सञ्चालन महासचिव कृष्ण ढकालले गरेका थिए ।
जेसीज सप्ताह अन्तर्गत उद्घोषण तथा वाककला तालिम, करियर डेभेलप्मेन्ट ओरियन्टेसन कार्यक्रम, बिरुवा संरक्षण तथा हस्तान्तरण कार्यक्रम, पौष्टिक आहार वितरण कार्यक्रमलगायतका विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरूको आयोजना गरिएको बुधबारे जेसीजले जनाएको छ ।






