काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताउनुभएको छ ।
वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो ।
पार्टी कमिटिहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उहाँको भनाई छ । उहाँले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाउनु भयो । वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उहाँको भनाई छ ।
उहाँले युवा पुस्ताका माग र आफूहरुको मागमा धेरै समानता देखिएको बताउनु भयो । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उहाँको भनाई छ ।






