काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उहाँले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको प्रतिक्रिया दिनुभएको हो ।
नेपालको संविधानअनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि सभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको रावलको भनाई थियो । नेता रावलले यही संविधानअनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गर्नुभयो ।
नेता रावलले मुलुकमा परिवर्तनको आभास दिलाउने हो भने संविधानमा रहेका कयौं विषयहरु संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।






