प्रधानमन्त्री नियुक्ति र संसद विघटन असंवैधानिकः तत्काल अन्तरिम आदेशको माग


२८ आश्विन २०८२, मंगलवार १४:३७ मा प्रकाशित


काठमाडौं । सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधि सभा विघटनका विरुद्ध रिट दायर भएको छ ।


भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनले प्रभावित बनेको सर्वोच्चले मंगलवारबाट रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरु गरेको हो । मंगलवार नै प्रधानमन्त्रीको नियुक्ति र संसद विघटनका विरुद्ध मुद्दा दर्ता गर्ने क्रम जारी छ ।

जेन—जी प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्नुएको थियो । अधिवक्ता कीर्तिनाथ शर्माले राष्ट्रपतिद्वारा सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय संविधानविपरित भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

उहाँले राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री दुवैको कदम असंवैधानिक भएको दाबी गर्दै तत्काल अन्तरिम आदेशको माग पनि गर्नुभएको छ । शर्माकाअनुसार संविधानको धारा ७६ को प्रावधानअनुसार प्रधानमन्त्री चयन प्रक्रिया संसदीय दलको नेताबाट मात्र हुनसक्ने उल्लेख छ । उहाँले संविधानको धारा ७६ को पूर्ण बेवास्ता गर्दै गैरसांसद सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताउनु भयो । यो कदम संविधानको भावना र व्यवस्था दुवैको उल्लंघन भएको उहाँको भनाई छ । 

उहाँले राष्ट्रपतिको भुमिका कार्यकारी नभइ संवैधानिक सीमाभित्र रहेको बताउनु भयो । संविधानको धारा ६१ ले राष्ट्रपतिलाई संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने उल्लेख गरेको उहाँको भनाई छ । साथै उहाँले धारा १३२ ले पूर्वप्रधानन्यायाधीश कार्की र पूर्वन्यायाधीश अनिलकुमार सिन्हा दुवै जनालाई कुनै पनि सरकारी जिम्मेवारीका लागि अयोग्य ठहराएको दाबी गर्नुभयो । 

शर्माले राष्ट्रपतिको निर्णय र त्यसपछि प्रधानमन्त्रीद्वारा संसद विघटन गरिएको कदमलाई असंवैधानिक भन्दै बदर गर्न माग गर्नुभएको छ । रिटमा राष्ट्रपतिको कदमलाई ‘अल्ट्रा भाइरस’ (संविधानभन्दा बाहिरको अधिकार प्रयोग) भएको भन्दै तत्काल अन्तरिम आदेशमार्फत कामचलाउ सरकारले दीर्घकालीन निर्णयहरू लिन नपाउने व्यवस्था गरिनुपर्ने माग गरिएको उहाँले जानकारी दिनुभयो ।

संविधानको आदर्श र मूल्य–मान्यता विपरित कुनैपनि कदम चाल्न नपाइने उहाँको जिकिर छ । संविधानको रक्षा गर्नु राष्ट्रपतिको कर्तव्य रहेको तर अहिले संविधानकै खिलापमा राष्ट्रपतिकै कार्यालयबाट काम भएको उहाँको आरोप छ । उहाँले वर्तमान सरकार काम चलाउ भएकोले यसलाई दीर्घकालिन असर पार्ने काम गर्न रोक लगाउन पनि माग गरिएको छ । राष्ट्रिय रुपमा दीर्घकालिन असर पर्ने कुनैपनि काम नगर्न अन्तरिम आदेश गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो । 

सर्वोच्चमा युवराज पौडेल, काठमाडौं विश्वविद्यालयमा कानून विषयमा अध्ययनरत दुई जेन—जी विद्यार्थी विपना शर्मा र आयुष बडाल लगायतले पनि प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन विरूद्ध रिट दायर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here