काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले विक्री नहुने जनाएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेन—जी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी,बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताउनु भयो ।
देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उहाँको भनाई छ । जेन—जी आन्दोलनपछि पनि खसी,बोका र च्याङ्ग्रा ल्याउन कोशिष गरेको भएपनि नसकेको उहाँले बताउनु भयो ।
हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले लामो समय खसी,बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताउनु भयो । खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताउनु भयो ।
उहाँले यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मूल्यवृद्धि नगरि सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । यो वर्ष खाद्यले खसीबोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने बताउनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागको विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको बार्षिक कार्यक्रम अनुरुप चाडपर्वको बेलामा खसी बोका र च्याङ्ग्रा विक्रीको लागि सम्पूर्ण तयारी गरिएको भएपनि रोकिएको बताउनु भयो ।
खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार समेत भइसकेको अवस्थामा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार खाद्य कम्पनीले यस वर्ष अनलाइन प्रणालीमार्फत पनि खसीबोका विक्री गर्ने योजना बनाएको थियो ।
अनलाईन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उहाँले बताउनु भयो । अनलाइन बुकिङमार्फत करिव ३० वटा अर्डर आएको भएको उहाँले जानकारी दिनुभयो । उहाँले जेनजी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको बताउनु भयो ।
कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि, खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण शुरु गरिसकेको छ ।






