काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ ।
पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीवार संसद भवनमा आयोजित कार्यक्रममा उहाँले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताउनुभएको हो । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताउनु भयो ।
नेपालले पनि यो कुरा भोगेर आएको उहाँको भनाई छ । लामो ईतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्व सांसदहरुलाई यसबारेमा अझ बढी ज्ञान भएको उहाँले बताउनु भयो ।
उहाँले पूर्व सांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण, संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाउनुभएको बताउनु भयो ।
पूर्वसांसदहरुलाई सम्मान गर्ने, औषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उहाँको भनाई छ । राज्यलाई हाल पूर्व सांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारीसमेत नभएको उल्लेख गर्नुहँुदै उहाँले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो ।






