राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे


१६ भाद्र २०८२, सोमबार १४:४३ मा प्रकाशित


काठमाडौं ।
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले नरोकेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रिकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताउनु भयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नविकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उहाँको सदस्यता नविकरण हुन नसक्ने निर्णय गरेको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ ।

तर कतिपय एमालेकै नेताहरु भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नविकरण हुनुपर्ने माग गर्दै आएका छन् । पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताको रुपमा आफूलाई प्रचार गर्दै आउनुभएको छ ।

सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताउनु भयो । संविधानले निर्वाचित भएको पद, मनोनित भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उहाँको भनाइ छ । 


लोकतान्त्रिक अधिकारलाई उल्लंघन गर्नेकुरा कुनै राजनीतिक दलहरुले गर्न नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here