बिर्तामोड । श्री पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति–५ र मेचीनगर नगरपालिका–३ को ३०औँ वार्षिक साधारणसभा तथा ४०औँ भेला एक समारोहका बिच सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा समूहको कुल आम्दानी ३६ लाख ३२ हजार ९८४ रुपैयाँ रहेको छ भने कुलखर्च ४१ लाख ९४ हजार ९४९ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अनुसार चालु आवमा ५ लाख ६१ हजार ९६५ रुपैयाँ घाटा देखिएको र सो रकम दायित्वमा गएको बताइएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा कुल ४५ लाख २५ हजार ५२८ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको समूहले प्रस्तुत गरेको छ । साथै समूहले विगतका समयमा हात्ती राहत कोष खडा गरेर कोषमा रकम जम्मा भएता पनि सो रकम समूहले नै चलाउँदै आएको र कोष निष्कृय जस्तै बनेको हुनाले सो कोषमा रु ६ लाख फिर्ता गरी कोषलाइ सुचारु गराउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता, आगामी वर्षका कार्यक्रम तथा बजेट योजनाबारे विस्तृत छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले सामुदायिक वन उपभोक्ता समूहहरूले वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले बन संरक्षण गर्न सबैको भुमिका महत्वपुण रहने बताउनुभयो । कार्यक्रमका अध्यक्ष चेतन आचार्यले सामुदायिक वनलाई दिगो बनाउन उपभोक्ताहरूको निरन्तर सक्रियता, सहकार्य र पारदर्शिताको आवश्यकता औंल्याउँदै आगामी वर्षलाई अझ व्यवस्थित ढंगले अघि बढाइने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सुरक्षाकर्मीहरूको समेत उपस्थिति रहेको थियो । संस्थाका सचिव बबिता चौधरीले स्वगत गर्नुभएको कार्यक्रमको सञ्चालन उपभोक्ता सदस्य पदम मिश्रले गर्नुभएको थियो ।






