बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड–१ की ९० वर्षीया राधादेवी खरेलले सहयोग गर्नुभएको छ । आफ्नै ९० औं जन्मोत्सवको अवसरमा उहाँले कोषलाई नगद ५१ सय रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
ज्येष्ठ नागरिक खरेलले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको कोषमा रकम सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम कोष संयोजक भीमा शिवाकोटीलाई हस्तान्तरण गरिएको थियो ।
खरेलका छोरा तथा बिर्तामोड–१ का पूर्व जनप्रतिनिधि प्रेम खरेलले आमाले पत्रकारहरुको हितका लागि कोषलाई सहयोग गरेको जानकारी दिनुभयो । यस अवसरमा प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, सहसचिव तिलक योञ्जन र कार्यसमिति सदस्य प्रकाश बानियाँ खरेल निवास पुगेका थिए ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषलाई विभिन्न अवसरमा रकम संकलनमार्फत सबल बनाउने कार्य भइरहेको संयोजक शिवाकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म कोषमा ७ लाख रुपैयाँ संकलन भइसकेको छ भने यस कार्यकालमै कोषलाई १५ लाख पुर्याउने लक्ष्य रहेको छ । संकलित कोषको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने कार्यविधि रहेको पनि उहाँले जानकारी दिनुभयो ।






